Friday, November 7, 2014

NEPALI TYPING IN MANGAL FONT IN KATHMANDU, NEPAL


विश्व मानसिक स्वास्थ्य संघले हरेक वर्ष १० अक्टोबरलाई विश्व मानसिक स्वास्थ्य दिवसको रूपमा मनाउने गर्छ। यस वर्ष स्किजोफ्रेनियासंगको जीवन लिभिङ विद स्किजोफ्रेनिया नाराका साथ विश्वभरि विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइँदछ। विश्व स्वास्थ्य संघले हरेक वर्ष यसलाई मनाउनुको मुख्य कारण मानसिक स्वास्थ्य प्रति जनमानसमा रहेको परम्परागत भ्रम कम गरि यसबारे सकारात्मक चेतना अभिवृद्धि गर्ने र समस्त विश्वभरमा मानसिक स्वास्थ्यलाई ग्राह्यता प्रदान गर्नु पनि हो।
विश्व स्वास्थ्य संगठनले सन् १९४८ मै स्वास्थ्य भनेको शारीरिक र मानसिक तथा सामाजिक तवरले स्वास्थ्य रहनु हो, भनेर परिभाषित गरे पनि हालसम्म नेपाल लगायत अधिकांश मुलुकहरूमा मानसिक स्वास्थ्यबारे आ आफ्नै किसिमका परम्परागत रूढिवादी धारणाहरू रहेका र यसको उपचार विधि पनि परम्परागत ढंगले भइराखेको देखिन्छ।
अझै पनि हाम्रो देशमा मानसिक स्वास्थ्यप्रति जनमानसमा मिथ्या तथा गलत धारणाहरू विद्यमान छन्। मानसिक रोग भन्ने बिक्तिकै पागलपन मात्रै ठान्ने प्रवृत्ति व्याप्त छ। मानसिक रोगहरू भूतप्रेत वा दैवी शक्तिको कारण हुन्छ भन्नेमा विश्वास राखिन्छ।     आधुनिक चिकित्सा प्रणालीद्वारा यसको उपचार सम्भव छ भन्ने थाहा नभर्इ परम्परागत औषधी प्रणालीमा विश्वास भएर धामी, झाँक्रिको शरणमा जाने अथवा घरमै नजरबन्द गरेर एउटै कोठामा वर्षौसम्म बाँधेर राख्ने गरेको पनि पाइएको छ। यसको ज्वलन्त उदाहरण गत असोज १२ गते कान्तिपुरमा सुदीप कैनीले लेख्नुभएको उपचार नपाउँदा दुर्इ वर्षदेखि कोठामै शीर्षकको समाचारलार्इ लिन सकिन्छ। गोरखा, बुर्कोटकी २४ वर्षीया अम्बिका थापा मगर आर्थिक अभावमा उपचार नपाउँदा दुर्इ वर्षदेखि घरको कोठामा थुनिएर बस्न बाध्य भएको विवरण त्यसमा उल्लेख थियो। बाबु दिलबहादुरका पाँच सन्तान छोरीमध्ये अम्बिका माइली हुन्। बाँकीमध्ये दुर्इजनाको विवाह भइसकेको र अन्य दुर्इ छोरी क्याम्पसमा पढ्दै रहेछन्।
अम्बिकाले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरी १२ पढदै गर्दा गत ०६५ सालदेखि असामान्य व्यवहार देखाउन थालेकी थिइन्। दिलबहादुरका अनुसार पत्नीको निधन, आर्थिक अवस्था कमजोर, एक्लैले परिवार र घरधन्दा धान्नुपर्ने आदि कारणले गर्दा छोरी अम्बिकाको उपचार गर्न उनी असमर्थ थिए। बिरामीमा रोगको लक्षण बढदै गएपछि दुर्इ वर्षदेखि घरको कोठामै थुनेर राखिएको थियो।
कोठामै दिसापिसाब गर्ने, गुन्द्री ओढेर खाली भुइँमा सुत्ने, घरि हाँस्ने, घरि रूने, नाँगै बस्ने, जता मन लाग्यो जाने भएकाले कोठामै थुनेर राखेको र खानेकुरा झ्यालबाट दिने गरिएको समाचार प्रकाशित भएपछि त्रिवि शिक्षण अस्पताल, इमरजेन्सी विभागका चिकित्सक अजयसिंह थापाको विशेष सक्रियतामा अम्बिका थापालार्इ गोरखाबाट एम्बुलेन्समा राखेर असोज १४ गते काठमाडौ ल्याइयो। उनलार्इ अहिले शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागको वार्डमा भर्ना गरेर निःशुल्क उपचार गरिंदैछ। परीक्षणपश्चात उनको रोगको डाइगनोसिस स्किजोफ्रेनिया गरिएको छ।
स्किजोफ्रेनिया एक प्रकारको जटिल मानसिक रोग हो, जसले मानिसको वैचारिक स्थितिमा गडबडी उत्पन्न गरेर मानसिक असन्तुलन ल्याउँछ। आधुनिक विज्ञानले स्किजोफ्रेनियालार्इ मस्तिष्कमा जीव रसायनको गडबडीको कारण हुने गरेको मान्छ। विश्व मानसिक स्वास्थ्य महासंघका अनुसार हाल विश्व जनसंख्याको करिब ०.७ देखि १ प्रतिशत मानिसहरू स्किजोफ्रेनियाबाट पीडित भएको अनुमान छ। यस अनुसार हाल विश्वमा कम्तीमा २ करोड ६० लाख मानिसहरू यो रोगबाट पीडित रहेको अनुमान यो प्रायः १६ देखि ३५ वर्षका युवक युवतीमा सुरू हुने गरेको पाइन्छ। यो प्रायः बिस्तारै सुरू हुन्छ र दीर्घ समस्याको रूपमा धेरै लामो समयसम्म रहन्छ। अरू बिरामीजस्तै स्किजोफ्रेनिया सुरू हुन लाग्दा विभिन्न लक्षणहरू देखिन सक्छन्। यो रोगीपिच्छे फरक फरक लक्षण हुनसक्ने मानसिक रोग हो। यसका प्रमुख लक्षणहरूमा व्यक्तिको कार्यशैली प्रकृति वा व्यक्तित्वमा परिवर्तन देखिनु, सोचाइ स्पष्ट र तर्कसंगत नभर्इ खण्डित हुनु, दृष्टि, श्रवण, स्पर्श, गन्ध र स्वादका चेतनाहरू पनि वास्तविक नभर्इ फरक खालको अनुभुति वा मिथ्याभास हुनु, अर्थहीन तथा दिशाहीन क्रियाकलापहरू देखिनु, सरसफाइमा वास्ता नगर्नु, रेडियो टेलिफोनहरूमा आफ्नै गरेजस्तै लाग्नु, अरूले मेरै कुरा गरेका छन्, मतिर इसारा गरेका छन् जस्ता अनावश्यक शंका गर्नु, एक्लै बोल्ने, हाँस्ने, रूने गर्नु आदि यो रोगका लक्षणहरू हुन्।
स्किजोफ्रेनिया एक दीर्घ मानसिक असन्तुलन भएकाले नियमित रूपमा औषधी सेवन गर्नु अति आवश्यक हुन्छ। सन् १९५० को दशकपछि आविष्कार भएका आधुनिक असरदार औषधीको प्रयोगले प्रायःजसो बिरामीले उपचारबाट निश्चित लाभ हासिल गर्न सक्छन्। करिब १० प्रतिशतमा भने उपचारले खास असर ल्याउँदैन। औषधीको प्रयोग बन्द गर्दा रोग पुनः फर्कने सम्भावना धेरै बढ्छ। उपचार प्रायः लामो समयसम्म गर्नुपर्छ। उपचारपछि बिरामीको लक्षण कम भएर गएपछि धेरैजसो उनीहरूले आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जीवन बिताउन सफल हुन्छन् भन्ने हामी सबैले बुझ्न जरूरी छ।
 स्किजोफ्रेनियाका बिरामीको औषधी उपचारबाट विसेक हुँदै गएपछि उसको जीवन समायोजनका अन्य पक्षहरूमा पनि सहयोग चाहिन्छ। बिरामीको कारणले पढाइ वा काम व्यवसाय छुटेको, काम गर्ने उत्साहमा कमी, आर्थिक समस्या बढ्दै गएको, परिवारका अन्य सदस्यहरूमा समेत तनाव उत्पन्न हुने भएकाले  औषधीका साथै मनोवैज्ञानिक र मनोसामाजिक उपहार पद्धतिको प्रयोग अति जरूरी हुन्छ। अनुसन्धानले देखाएको छ औषधी सेवनको मात्र उपचार गर्दा पुनः बल्झिने दर ५० प्रतिशत पाइएको छ भने  औषधी सेवनका साथै मनोवैज्ञानिक परामर्श, पारिवारिक परामर्श र सामाजिक क्षमता वृद्धिको तालिम दिंदा समस्या पुनः बल्झिने दर ७५ प्रतिशत झरेको पाइएको देखिन्छ।
जनसंख्याको न्युनतम १ प्रतिशतलार्इ यो रोग लागेको मान्दा नेपालमा साढे दुर्इ लाखभन्दा बढी स्किजोफ्रेनियाका बिरामी हुनसक्ने अनुमान छ।

अम्बिका थापा र उनका परिवारलार्इ खाली सहानुभूति दिएर हुँदैन। समाजको एउटा महत्तवपूर्ण अंगको रूपमा रहेका यी बिरामीहरूप्रति सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन जरूरी छ। राज्यले पनि यी अशक्त बिरामीहरूप्रति दायित्वबोध गरी समाजमा तिनलार्इ आत्मनिर्भर भर्इ चल्नसक्ने बनाउन तिनीहरूलार्इ शिक्षा दिने, पेसागत तालिम दिने र कुनै पेसामा लाग्न सहयोग गरिदिने व्यवस्था जरूरी हुन्छ।

No comments:

Post a Comment